दफा ३२
आवधिक विवरण पेश गर्नु पर्ने
(१) नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले आय र व्ययको आवधिक विवरण महालेखा नियन्त्रक कार्यालयको सिफारिसमा महालेखा परीक्षकको कार्यालयबाट स्वीकृत भएको ढाँचामा तयार गर्नु पर्नेछ ।
(२) उपदफा (३) बमोजिम स्थानीय तहबाट प्राप्त विवरण समेत समावेश गरी प्रदेशले आफ्नो आय र व्ययको चौमासिक विवरण त्यस्तो अवधि समाप्त भएको मितिले तीस दिनभित्र मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ।
(३) स्थानीय तहले आफूले गरेको आय र व्ययको चौमासिक विवरण त्यस्तो अवधि समाप्त भएको मितिले पन्ध्र दिनभित्र मन्त्रालय तथा प्रदेश समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपदफा (२) र (३) बमोजिम प्रदेश र स्थानीय तहले दोस्रो चौमासिक आय व्ययको विवरण पेश गर्दा तेस्रो चौमासिकमा हुन सक्ने आय र व्ययको अनुमान समेत पेश गर्नु पर्नेछ ।
(५) उपदफा (२) र (३) बमोजिम तोकिएको अवधिभित्र विवरण पेश हुन नआएमा नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने अनुदान रोक्का गर्न सक्नेछ ।